१५ कात्तिक,वीरगञ्ज । तीन दिनदेखि परेको बेमौसमी वर्षाले बाराका किसानको भित्राउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्याएको छ। निरन्तर पानी परेपछि जिल्लाको उत्तरी क्षेत्रका खेतहरूमा भिजेका धानबाली काट्ने र उठाउने दुबै वेला पानीमा डुबेकाले किसानहरू चिन्तित बनेका छन्।
बुधबारदेखि परेको अविरल वर्षाले खेतमा पानी जम्दा उत्पादन घट्ने र पाकेका धानबाली सड्ने अवस्था आएको किसानहरूको गुनासो छ। अहिले किसानहरूले लगाएका हाइब्रिड जातका मसिनो धान र कर्तनी धान काट्ने बेला पानीले बिगारेपछि खेतमै भिजिरहेको किसानहरूको पीडा झल्किएको छ।
“धान काट्ने मानिसै पाइएन, टेक्टर र मेशिनले काटेका धान पनि तीन दिनदेखि खेतमै भिजेर नोक्सान भएको छ,” जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगरका एक किसानले बताए।
जिल्लाका कोल्हवी, निजगढ, जीतपुरसिमरा र करैयामाई लगायतका पालिकाहरूमा किसानहरूले लगाएका धानबाली मात्र होइन, अन्य बालीहरू पनि प्रभावित भएका छन्।
यद्यपि, यो बेमौसमी वर्षाले सबै क्षेत्रमा नकारात्मक असर मात्रै पारेको छैन। तोरी र मकै लगाउने किसानहरूका लागि भने पानी लाभदायक भएको बताइएको छ।
पशुपालक किसानहरूका लागि पनि वर्षा राहतस्वरूप बनेको छ। लामो समयदेखि जमिन सुख्खा भएकाले घाँस छर्ने समस्या समाधान भएको छ। अब माटो भिजेपछि किसानहरूले घाँसका बीउ छर्ने काम सुरु गरेका छन्।

















