१५ कात्तिक बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि भैरहवा (गौतमबुद्ध) विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
फलाइट नम्बर २२२, जसले बिहान १० बजे धनगढीबाट उडेको थियो, हाइड्रोलिक फेलियर भएपछि काठमाडौं नपुग्दै बीच बाटोमै सुरक्षित अवतरण गरिएको हो।
गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, हाइड्रोलिक फेलका कारण विमान रन वेबाट गुड्न सकेन, जसका कारण करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध भएका थिए।
आकस्मिक अवतरणका क्रममा विमानको अगाडिको ल्यान्डिङ गियर नखुल्दा विमान धानमार्गमा रोकिएको थियो। तर साढे १२ बजे ल्यान्डिङ गियर खुलेपछि विमानलाई ट्रमिनलको पार्किङ स्थलमा सुरक्षित राखिएको छ।
विमानमा रहेका चालक दल र ८२ जना यात्रु सबै सकुशल छन्। उनीहरुलाई काठमाडौं पठाउन अर्को विमान व्यवस्था भइरहेको छ। अहिले गौतमबुद्ध विमानस्थलमा सामान्य उडान–उतरान सञ्चालनमा फर्किसकेको छ।














