Logo

१५ कात्तिक,जनकपुरधाम । धनतेरस पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको सुनचाँदी बजारमा प्रहरीको कारबाहीका क्रममा उत्पन्न विवादले व्यापारी समुदायलाई आन्दोलनमा उत्राएको छ। जनकपुरधाम उद्योग वाणिज्य सङ्घले घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै आन्दोलन सुरु गरेको छ।

प्रहरीको बल प्रयोगका क्रममा सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएपछि व्यापारीहरूले दुई चरणको विरोध कार्यक्रम घोषणा गरेका छन्। पहिलो चरणमा व्यापारीहरूले कालोपट्टी बाँधेर र प्रतिष्ठानहरूमा कालो झन्डा झुन्ड्याएर व्यवसाय सञ्चालन गर्दै विरोध जनाएका छन्। यस विरोध कार्यक्रमलाई कार्तिक १७ गतेसम्म जारी राख्ने निर्णय गरिएको छ।

विवाद धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदीको सूचनाको आधारमा बजारमा छापा मार्दा उत्पन्न भएको थियो। प्रहरीले छापामा ७ किलो चाँदी नियन्त्रणमा लिएको थियो। तर व्यापारीहरूले छापा मार्ने क्रममा चाँदी लुटिएको आरोप लगाउँदै प्रतिवाद गर्दा स्थिति तनावपूर्ण बनेको थियो।

संघले भने पहिलो चरणको विरोधबाट पनि माग सम्बोधन नभए कार्तिक १८ गतेदेखि दोस्रो चरणको कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। दोस्रो चरणमा नगर परिक्रमा, दिउँसो पसल बन्द, र जनक चोकमा कोणसभा तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ।


सम्बन्धित समाचार