Logo

१५ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार भ्रष्टाचारमुक्त प्रशासन र सुशासन स्थापनामा दृढ रहेको बताएका छन्।

शनिबार बाराको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले जनताको साथमा कुशासन र व्यथितिलाई अन्त्य गर्दै पारदर्शी शासन प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले भने, “सरकार जनताको काँधमा काँध मिलाएर कुशासन समाप्त पार्न तयार छ। सुशासनको दिशामा पाइलाहरू अगाडि बढाउँदै भ्रष्टाचार र भ्रष्टाचारीलाई अन्त्य गर्ने हाम्रो लक्ष्य हो।”

मुख्यमन्त्री सोनलले नागरिकहरूलाई जीविकोपार्जन, सामाजिक सद्भाव र राष्ट्रिय उन्नतिका लागि दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने बताए। उनले नेपालको भूमि र मधेश प्रदेशलाई ‘स्वर्गभन्दा ठूलो’ भन्दै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सन्देशको स्मरण गराए।

देश अहिले ‘तरल अवस्थामा’ रहेको उल्लेख गर्दै उनले कुशासन र भ्रष्टाचारले जनताको ध्यान आकर्षित गरेको बताए। “जेनजी समूहका युवाहरू समेत आन्दोलनमार्फत् आफ्नो विचार व्यक्त गरिरहेका छन्, जसले परिवर्तनप्रतिको चेतना बढेको संकेत गर्छ,” सोनलले भने।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै गरिब र निमुखा जनताको लागि सर्वोत्तम प्रणाली भएको बताउँदै उनले संविधान, नेतृत्व र ब्युरोक्रेसीमा कमजोरीहरू रहे पनि तिनलाई सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री सोनलले अन्त्यमा भने, “यी चुनौतीबीच पनि यही व्यवस्थालाई संस्थागत गर्दै हामी समुन्नत नेपाल र समुन्नत मधेश प्रदेशको निर्माणमा जुटिरहेका छौं।”


सम्बन्धित समाचार