१६ कात्र्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि विगत चार दिनदेखि अवरुद्ध रहेको बञ्चरेडाँडा ल्याण्डफिल साइट अन्ततः पुनः सञ्चालनमा आएको छ ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको चर्को विरोधपछि रोकिएको फोहोर फाल्ने कार्य सहरी विकास मन्त्री कुलमान घिसिङ को प्रतिबद्धतापछि खुलेको हो । ककनी गाउँपालिका –३ का वडाध्यक्ष घननाथ बजगाँईले जानकारी गराए अनुसार, मन्त्री घिसिङसहितको टोलीले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न अनुमति दिइएको हो ।
‘स्थानीयको माग सम्बोधन १५ दिन भित्र भएन भने फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस् भनेर मन्त्रीज्यूले नै भनेपछि हामीले फोहोर फाल्न दिएका हौँ । अहिले रोकिएका गाडीहरू बञ्चरेडाँडामा पुग्न थालिसके,’ वडाध्यक्ष बजगाँईले बताए ।
आज बिहानै सहरी विकास मन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडा पुगेर स्थानीयसँग छलफल गरेको थियो ।
अवरोधको कारण
ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयहरूले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा सङ्घीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल भने निष्कर्षविहीन भएको थियो । काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका स्थानीय तहबाट दैनिक १५० गाडीभन्दा बढी फोहोर बञ्चरेडाँडामा जाने गरेको छ ।
यो ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, तथा धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।
















