२१ कात्र्तिक, काठमाडौं । हालै माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वामपन्थी घटकबीच भएको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका तीनजना प्रभावशाली वाम नेताहरूबीच आज बिहान भेटवार्ता भएको छ ।
प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा यो भेट भएको हो । नेपालमा एमाले, नवगठित एकीकृत समाजवादी तथा माओवादी केन्द्र लगायतका ठूला कम्युनिस्ट पार्टीभित्र र बाहिर रहेका असन्तुष्ट नेताहरूबीच छुट्टै वाम ध्रुवीकरण हुने चर्चा चलिरहेको बेला यो त्रिपक्षीय छलफलले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।
कात्तिक १९ गते सम्पन्न १० वाम घटकको एकता प्रक्रियामा यी तीनै नेताको असहमति सार्वजनिक भएको थियो, जसकारण उनीहरूबीचको यो भेटलाई असन्तुष्ट वाम शक्तिहरू एकजुट हुने प्रयासका रूपमा हेरिएको छ।

















