Logo

२२ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत कार्ययोजना तयार पारेको छ। आयोगले निर्वाचनको तयारीलाई चरणबद्ध रूपमा अघि बढाउँदै प्रचार–प्रसार, मतपत्र वितरणदेखि मौन अवधिसम्मका मिति निर्धारण गरेको हो।

आयोगका अनुसार निर्वाचन प्रचार–प्रसारका लागि १४ दिनको समय दिइनेछ। उम्मेदवारहरूले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचार–प्रसार गर्न पाउने छन्। त्यसपछि मौन अवधि सुरु हुनेछ, जसअन्तर्गत कुनै पनि प्रकारको प्रचार गतिविधि निषेध हुनेछ।

त्यस्तै फागुन १२ गतेभित्र सबै मतपत्र जिल्ला सदरमुकाममा पुगिसक्ने व्यवस्था गरिएको छ। त्यसपछि ती मतपत्रहरू सम्बन्धित मतदान केन्द्रहरूमा पठाइने आयोगले जनाएको छ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा आयोगले निर्वाचन तयारीको अवस्था र आगामी कार्यक्रमबारे विस्तृत जानकारी दिएको थियो।

बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले निर्वाचन पूर्व तयारीबारे समितिलाई ब्रिफिङ गरेका थिए। आयोगले हाल आवश्यक जनशक्ति, सामग्री व्यवस्थापन र समन्वय प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।

आयोगका अनुसार आगामी निर्वाचन निष्पक्ष, भयरहित र पारदर्शी बनाउन सम्पूर्ण तयारीलाई प्राथमिकता दिइँदैछ।


सम्बन्धित समाचार