२३ कार्तिक, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लाहरूमा मतदाता नामावली अद्यावधिक गराउने नागरिकको भीड तीव्र रूपमा बढ्दै गएको छ।
सरकारद्वारा निर्वाचनको मिति घोषणा गरेसँगै विभिन्न जिल्लास्थित निर्वाचन आयोगका कार्यालयहरूमा नयाँ मतदाता दर्ता, विवरण सच्याउने, ठेगाना परिवर्तन गर्ने, दोहोरो नाम हटाउने र मृतकको नाम मेटाउने कार्य तीव्र गतिमा भइरहेको छ।
निर्वाचन आयोगको नयाँ कार्यतालिकाअनुसार नागरिकहरूले अनलाइन प्रणालीमार्फत विवरण भरेर प्रत्यक्ष उपस्थित भई फोटो खिचाउने र दर्ता गर्ने प्रक्रिया सहज बनेको छ।
मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अधिकृत कृष्णचन्द्र राउतका अनुसार निर्वाचन मिति घोषणा भएयता दैनिक दुई सयभन्दा बढी नागरिक नयाँ मतदाता दर्ता गर्न तथा फोटो खिचाउन कार्यालय पुग्ने गरेका छन्।
उनका अनुसार १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त गरेका जो–कोहीले पनि नेपालको जुनसुकै निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउन सक्ने व्यवस्था भएकाले जनकपुरधाममा भीड असामान्य रूपमा बढेको हो।
निर्वाचन आयोग जनकपुरधामका तथ्यांकअनुसार कात्तिक १६ गतेसम्म मधेस प्रदेशमा कुल ३४ लाख ४२ हजार ९५७ जनाले मतदाता नामावली अद्यावधिक गराएका छन्। जसमा १८ लाख ६२ हजार ९१८ पुरुष, १५ लाख ७९ हजार ९६१ महिला र ७८ अन्य रहेका छन्।
जिल्लागत विवरणअनुसार सप्तरीमा ४ लाख १८ हजार ७८२, सिराहामा ४ लाख ३१ हजार ६०३, धनुषामा ४ लाख ८१ हजार ५९३, महोत्तरीमा ४ लाख ५ हजार १०४, सर्लाहीमा ४ लाख ९० हजार ४, रौतहटमा ४ लाख २१ हजार ६९३, बारामा ४ लाख ४१ हजार २८१ र पर्सामा ३ लाख ५२ हजार ४८४ जनाले आफ्नो नाम अद्यावधिक गराएका छन्।
असोज ९ गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम कार्तिक ३० गतेसम्म चल्नेछ। आयोगका अनुसार यस अवधिभित्र दर्ता भएका मतदाताहरूलाई फागुन २० गतेसम्म अन्तिम मतदाता सूचीमा समावेश गरिनेछ।
निर्वाचन नजिकिँदै जाँदा अझ धेरै नागरिकले अन्तिम समयमा दर्ता गराउने सम्भावना रहेकाले आयोगले आवश्यक जनशक्ति परिचालन र प्रविधागत तयारीमा तीव्रता दिएको जनाएको छ।

















