२३ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)को राजीनामापछि प्रदेशको राजनीति तातेको छ। सरकार ढलेसँगै सत्ता समिकरण फेरिने संकेत देखिएको छ भने विभिन्न दलहरूले नयाँ सरकार गठनका लागि तीव्र कसरत थालेका छन्।
आइतबार बिहान निवर्तमान मुख्यमन्त्री सोनल आफ्ना सांसदहरूको टोलीसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग भेटघाट गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। उनले हालको राजनीतिक अवस्थाबारे जानकारी गराउँदै नयाँ सरकार गठनका लागि संविधानअनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेको बताइएको छ।
त्यस्तै, विपक्षी दल नेपाली कांग्रेससहितका दलहरूले पनि समानान्तर रूपमा राजनीतिक भेटघाटमा तिव्रता दिएका छन्। कांग्रेसका प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि छुट्टाछुट्टै रुपमा प्रदेश प्रमुखसँग छलफल गरेको स्रोतले जनाएको छ।
तर, अहिले प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा अन्यौलता देखिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको कुन धारा अनुसार सरकार गठनका लागि आह्वान गर्ने भन्ने विषयमा स्पष्टता नआएकाले औपचारिक आह्वान गर्न नसकेको बताइएको छ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार, कुनै दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न सकिन्छ। तर, त्यही प्रावधानअनुसार नियुक्त मुख्यमन्त्री सोनलले ३० दिनभित्र विश्वासको मत नपाएपछि पदत्याग गरेपछि अब धारा १६८ को उपधारा (३) लागू हुने कि (२) नै पुनः प्रयोग हुने भन्ने विषयमा अन्यौलता बढेको छ।
संविधानको धारा १६८(३) अनुसार, यदि उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन नसके वा नियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेमा, प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ।
यही संवैधानिक अस्पष्टताका कारण प्रदेश प्रमुखको कार्यालयमा राजनीतिक दौडधुप बढेको बताइएको छ। दलहरू आ–आफ्नो तर्फबाट समर्थन जुटाउने प्रयासमा छन् भने राजनीतिक समीकरण फेरिन सक्ने सम्भावनाले मधेस प्रदेशको सत्ता फेरि अस्थिरताको दिशातर्फ उन्मुख भएको देखिएको छ।














