Logo

२४ कात्तिक,वीरगञ्ज । उपप्रमुख सकुन्तला देवी साहको नेतृत्वमा आइतबार मलंगवा नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरूले नगरप्रमुख नागेन्द्र प्रसाद यादवको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा, स्टोर, कार्यालय प्रमुख होमनाथ सुवेदीको कार्यकक्ष र मुख्य गेटमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन्।

उपप्रमुख साहले बताएअनुसार, गत कार्तिक १९ गते विभिन्न १० बुँदे मागसहित प्रेस विज्ञप्ति बुझाए पनि नगरप्रमुख यादवले ती माग बेवास्ता गरेका थिए। तालाबन्दी नगरपालिकामा समस्या समाधानको लागि गरिएको हो। वडा नं. १ का वडाध्यक्ष नबल राय यादवले भने, “१० बुँदे माग पूरा नभएपछि हामी अनिश्चितकालका लागि तालाबन्दीमा बाध्य भयौं।”

तालाबन्दीको मागमा प्रमुख रूपमा ज्येष्ठ नागरिक र विद्यार्थीहरूको समस्या, शिक्षकहरूको तलब भत्ता, सामाजिक सुरक्षा भताराजीत, कार्यालय प्रमुखको सरुवा, प्राविधिक कर्मचारीहरूको द्वन्द्व समाधान, सरकारी साधनको दुरुपयोग रोक, वडागत कामको जिम्मेवारी स्पष्ट पार्नुपर्ने, कार्यपालिकाको नियमित बैठक, र पालिकामा सुशासन कायम गर्नुपर्ने समावेश छन्।

मलंगवा वडा नं. ९ का शिक्षकहरूले चार महिनादेखि तलब पाएका छैनन् भने ज्येष्ठ नागरिकले चार महिनादेखि वृद्धा भत्ता पाएका छैनन्। वडा नं. १२ का वडाध्यक्ष रामदरेश रायले कार्यालयमा बिचौलिया तथा दलालहरूको प्रभाव बढेको आरोप लगाएका छन्।

नगरपालिकाका जनप्रतिनिधिहरूले कार्यालय प्रमुख रामलाल सहनीलाई प्रेस विज्ञप्ति बुझाएका थिए। उनीहरूले नगरप्रमुखलाई कार्तिक २३ गतेसम्म समय दिएका थिए। नगरप्रमुख यादवले माग बेवास्ता गरेपछि उपप्रमुख तथा वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन्।

तालाबन्दीकारहरूले चेतावनी दिएका छन् कि माग पूरा नभएमा चरणवद्ध कडा आन्दोलन गरिनेछ।


सम्बन्धित समाचार