Logo

२५ कात्र्तिक, काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनलाई लिएर निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त तथा विज्ञहरूसँग छलफल गरेको छ।

सोमबार भएको उक्त छलफलमा सहभागी पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले परम्परागत शैलीभन्दा फरक ढंगले निर्वाचन सम्पन्न गर्नका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले प्रयोग गर्दा खर्च कम हुने र नतिजा चाँडो सार्वजनिक हुने भएकाले यो प्रविधि अपनाउनुपर्ने सुझाव दिएको बताएका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जङ्गबहादुर राणा लगायतको उपस्थिति रहेको छलफलमा निर्वाचनको रणनीति, तयारी र अपनाउनुपर्ने सावधानीबारे अनुभव आदानप्रदान भएको थियो । यस क्रममा सबैभन्दा बढी जोड प्रविधिको प्रयोग र विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार सुनिश्चितताको विषयमा दिइएको थियो ।

पूर्वप्रमुख आयुक्त उप्रेतीका अनुसार आयोगका अधिकारीहरूले प्रविधि प्रयोग गरी मतदान गर्ने र विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउने सन्दर्भमा सुझाव लिएका थिए । विदेशमा रहेका मतदाताको मताधिकारका लागि सर्वोच्च अदालतको आदेशअनुसार कानुन बनिसकेको भए पनि त्यसलाई कार्यान्वयन गर्न नियमावली बनाउनुपर्ने अवस्था रहेको उनले औँल्याएका छन् ।

उनले विदेशमा रहेका नेपालीलाई समेत मतदानको व्यवस्था मिलाउनतर्फ प्रयास गर्नुपर्ने सुझाव दिएका छन् । साथै, अहिलेको राजनीतिक अवस्थामा सबै पार्टीहरूले निर्वाचनमा भाग लिन हिचकिचाएको अवस्थालाई कसरी सम्बोधन गर्ने र शान्ति सुरक्षा कायम गर्ने भन्नेबारेमा पनि छलफल भएको बताइएको छ ।


सम्बन्धित समाचार
भर्खरै