Logo

२५ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू संवैधानिक बाध्यताअनुसार मुख्यमन्त्री बनेको भन्दै आवश्यक परे राजीनामा दिन पनि तयार रहेको बताएका छन्।

मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भने,

“म संवैधानिक बाध्यतावश मुख्यमन्त्री बनेको हुँ। मेरो व्यक्तिगत इच्छा अनुसार मुख्यमन्त्री बन्न खोजेको होइन। अरु दलका नेताहरुलाई सरकार गठनको जिम्मेवारी दिन पनि म सहमत भएको थिएँ। तर, पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउन नसकेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले मलाई नियुक्त गर्नुभयो।”

मुख्यमन्त्री यादवले अझै पनि राजनीतिक सहमतिको बाटो खुला रहेको उल्लेख गर्दै भने,

“अझै केही बिग्रिएको छैन। दलहरूले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनमा सहमति जनाए, म राजीनामा दिएर मार्गप्रशस्त गर्न सक्छु।”

उनले अहिले नेपाली कांग्रेसबाहेक अन्य दललाई नेतृत्व दिने कुनै योजना नभएको पनि स्पष्ट पारे। यादवका अनुसार, उनी आज काठमाडौं जाँदैछन् र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मधेश सरकार गठनका विषयमा छलफल गर्नेछन्।

“पार्टी अध्यक्ष ओलीले मधेश सरकार गठनको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ। काठमाडौंमा कांग्रेसका कार्यवाहक सभापतिसँग भेटघाट गरेर प्रदेश सरकार गठनको अवस्थाबारे जानकारी दिनेछु,” उनले भने।

यससँगै मधेश प्रदेशको सत्ता समीकरण फेरि बदलिने संकेत देखिएको छ। नेपाली कांग्रेस, एमाले र अन्य दलबीच हुने सम्भावित सहकार्यले प्रदेश सरकारको भविष्य आगामी दिनमा तय गर्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै