२५ कात्तिक,काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले आगामी आम निर्वाचनअघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेको छ।
गत कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरू नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मंगलबार बुझाउँदै ट्रेड युनियन कांग्रेसले महाधिवेशनलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।
बैठकका १३ बुँदे निर्णयहरू कार्यवाहक सभापतिलाई बुझाउँदै ट्रेड युनियन कांग्रेसले फागुन २१ गते तय गरिएको आम निर्वाचनमा सबै सदस्यहरू सहभागी हुनुपर्ने र पार्टीले “ताजा नीति तथा नेतृत्व” सहित निर्वाचनमा जानुपर्ने बताएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूले कार्यस्थलबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि माग गरिएको छ।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरका अनुसार, बैठकले “जनजी आन्दोलनपश्चातका उद्योग–व्यवसाय र पर्यटन क्षेत्रका प्रतिष्ठानहरूमा देखिएका समस्या” प्रति सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको छ।
ज्ञापन पत्र बुझ्दै कार्यवाहक सभापति खड्काले ट्रेड युनियन कांग्रेसले उठाएका विषयहरू कांग्रेस नेतृत्वले सकारात्मक रूपमा लिने बताएका छन्। उनले भने, “चाडपर्वका कारण केही ढिलाइ भएको भए पनि अब कांग्रेस छिट्टै निष्कर्षमा पुग्नेछ।”
त्यस क्रममा अध्यक्ष कुँवरले हालको राजनीतिक तथा आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “देशमा बेरोजगारी बढ्दो छ, उद्योग–कलकारखाना बन्द हुने अवस्थामा छन्, पुँजी पलायनको जोखिम बढेको छ। कांग्रेसजस्तो पुरानो र लोकतान्त्रिक दलले यी समस्याको समाधानका लागि चाँडो निर्णय लिनुपर्छ।”
ट्रेड युनियन कांग्रेसमा हाल करिब चार लाख सदस्य छन्। यस संगठन अन्तर्गत विभिन्न पेशागत क्षेत्रमा आबद्ध २७ श्रमिक संगठनहरू सदस्यका रूपमा रहेका छन्।

















