Logo

२५ कात्तिक,काठमाडौं । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले) ले मंगलबार देशभरका स्थानीय तहमा प्रदर्शन गरेको छ । पार्टीको जनपरिचालन अभियानअन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍याली, नारा जुलुस र जनसभासमेत आयोजना गरिएको एमालेले जनाएको छ ।

एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय तहसम्मका कार्यक्रम सार्वजनिक गरेको थियो । सोही क्रममा काठमाडौं महानगर कमिटीले वसन्तपुर क्षेत्रमा भव्य जनप्रदर्शन तथा सद्भाव र्‍याली निकालेको हो ।

कार्यक्रममा सहभागीहरूले “प्रतिनिधिसभा पुनःस्थापना गर”, “संविधान र लोकतन्त्रको रक्षा गर”, “जनमतको अपमान सहिँदैन” जस्ता नारासहित प्रदर्शन गरेका थिए ।

एमाले नेता आनन्दप्रसाद पोखरेलले देशभर भइरहेको प्रदर्शनलाई जनजागरण अभियानका रूपमा अघि बढाइएको बताए । उनले भने, “यो आन्दोलन प्रतिनिधिसभा विघटनको विरोध मात्र होइन, संविधान र जनादेशको संरक्षणका लागि पनि हो ।”

एमालेले यो अभियानलाई क्रमिक रूपमा विस्तार गर्ने योजना बनाएको छ । पार्टीले कात्तिक २९ गते जिल्लास्तरमा र आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रिय स्तरको भव्य जनप्रदर्शन गर्ने तयारी गरेको जनाएको छ ।

एमालेका अनुसार जनपरिचालन कार्यक्रममार्फत पार्टीले सरकारको “असंवैधानिक कदम” विरुद्ध देशव्यापी दबाब सिर्जना गर्ने लक्ष्य लिएको छ ।


सम्बन्धित समाचार
भर्खरै