२८ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र माघ ११ गते हुन लागिरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार फरक–फरक सूचना जारी गर्दै दुवै निर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु गर्न आमन्त्रण गरेको हो ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।
दल दर्ता गर्न निवेदन दर्ता गर्दा दलसम्बन्धी सम्पूर्ण विवरण, आयोगमा दर्ता भएको मिति, आवश्यक कागजात तथा प्रमाणपत्रहरू समावेश गर्न आयोगले निर्देशन दिएको छ ।
फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्यको पद रिक्त हुने भएपछि सो रिक्तता पूर्ति गर्न आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । सोही निर्वाचन तयारीस्वरूप आयोगले दल दर्ता प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

















