Logo

२९ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि सेवा लिने नागरिकको चाप बढेपछि अवधि थपेको छ ।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत नाम दर्ता तथा अद्यावधिक कार्यको समय मंसिर ५ गतेसम्म बढाइएको जानकारी दिएको हो ।

आयोगका अनुसार पछिल्ला दिनमा नयाँ मतदाताको सहभागिता उल्लेख्य रूपमा बढेपछि सहजताका लागि अवधि थपिएको हो । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र समय तोकेको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि हिजो आयोगलाई सेवा समय विस्तार गर्न आग्रह गरेकी थिइन् ।

आयोगको अद्यावधिक विवरणअनुसार हालसम्म दुई लाख ५७ हजार पाँच सयभन्दा बढी नयाँ नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । आयोगले थपिएको अवधिमा पनि उत्साहजनक सहभागिता हुने आशा व्यक्त गरेको छ ।

दर्ता कसरी गर्ने ?

आयोगले नागरिकलाई नाम दर्ताका लागि दुई विकल्प उपलब्ध गराएको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर अनलाइन आवेदन र पहिले प्रयोगमा रहेको प्रणालीमार्फत आवेदन दर्ता गरी जैविक विवरण (फोटो र औँठाछाप) सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउने दुई विकल्प उपलब्ध छ ।

आज (शनिबार) का लागि आयोगले फरक व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर भएकाले मात्र अनलाइन आवेदन दिन सक्ने, परिचयपत्र नम्बर नभएकाले आज आवेदन दिन नपाउने व्यवस्था छ ।

तर, पहिले नै अनलाइन आवेदन भरेकाहरूले भने आजै सम्बद्ध निर्वाचन कार्यालयमा गएर जैविक विवरण दिन सक्ने आयोगले जनाएको छ ।

साथै आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई आजैदेखि जैविक विवरण संकलन सेवा पूर्ववत रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावली दर्ता गर्ने व्यवस्था लागू भएपछि हिजोदेखि अनलाइन सेवा प्रयोगकर्ताको संख्या उल्लेख्य रूपले बढेको आयोगको भनाइ छ ।


सम्बन्धित समाचार