३ मंसिर, काठमाडौं । बाराको सिमरास्थित विमानस्थल क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताका युवाहरूबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको छ ।
स्थिति थप भड्किन नदिनका लागि स्थानीय प्रशासनले आज बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो । जारी आदेशअनुसार, गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ लगायतका गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
नेकपा एमालेको युवा संगठन, युवा संघले बाराको परवानीपुरमा आयोजना गरेको ‘युवा जनजागरण अभियान’ अन्तर्गतको मधेश प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका थिए । उनीहरूलाई रोक्न जेन–जीका युवाहरूले सिमरा एयरपोर्टमा विरोध कार्यक्रम गर्दा एमालेका युवा संघका कार्यकर्ताहरूसँग भनाभन भएको र पछि प्रहरीसँग समेत झडप भएको थियो। झडपका कारण त्यहाँको अवस्था तनावग्रस्त बनेपछि प्रशासनले यो कदम चालेको हो ।















