३ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचन सम्पन्न गरेर सुरक्षित र विधिगत तरिकाले सत्ता हस्तान्तरण गर्नु रहेको स्पष्ट पारेका छन् ।
परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले सरकार आफ्नो म्यान्डेटमा केन्द्रित रहेको बताएका हुन् । खनालका अनुसार, वर्तमान समयमा सरकार सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानुनसम्मत तरिकाले अघि बढ्नुपर्ने अवस्थामा छ। उनले सरकारले करका दरहरू हेरफेर गर्ने विषयमा हात नहालेको बताउँदै यसको जिम्मेवारी निर्वाचित सरकारलाई नै दिन चाहेको उल्लेख गरे ।
यदि अहिले करका दर चलाउन खोजिएमा कुनै खास पक्षलाई पक्षपोषण गर्न खोजिएको भन्दै फेरि अर्को व्यावसायिक तप्काबाट विरोधको आवाज उठ्न सक्ने र यसले निर्वाचन तथा सत्ता हस्तान्तरणको प्रक्रियामा अवरोध पुग्न सक्ने उनको भनाइ छ ।
त्यसैले, सरकारको सम्पूर्ण ध्यान निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनामा केन्द्रित रहेको अर्थमन्त्री खनालले स्पष्ट पारेका छन् ।















