३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
प्रवक्ता मनिष झाका अनुसार यो बैठकमा १० वटा कार्यसूचीहरूमा छलफल हुनेछ । बैठकको महत्त्वपूर्ण कार्यसूचीहरूमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी लिने र देशको समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलहरूबारे छलफल गर्ने रहेको छ।
यसका साथै, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गरिने, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरिने र वाचापत्र कार्यदल विस्तार गरिने कार्यक्रम छ । रास्वपाले संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने र आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरी केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्नका लागि मिडिया अध्ययन कार्यदल गठन गर्ने कार्यसूची पनि तय गरेको छ।
प्रवक्ता झाका अनुसार राजनीति अध्ययन कार्यदल गठन गर्ने कार्यसूची पनि रहेको छ, जसले राजनीतिक दल र समूहका गतिविधिहरूको नियमित अध्ययन एवं विश्लेषण गर्नेछ ।















