३ मंसिर,काठमाडौं । सशस्त्र प्रहरी बलमा तीन जना डीआईजी पद थप गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरोको कमाण्ड अब डीआईजी तहबाट संचालन गर्ने निर्णयसँगै तीन नयाँ दरबन्दी स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघिसम्म यी युनिटको जिम्मेवारी एसएसपीले सम्हाल्दै आएका थिए। नयाँ दरबन्दी थपिएसँगै सशस्त्र प्रहरी बलमा अब डीआईजीको संख्या २१ पुगेको छ। यसमध्ये २ जना प्राविधिकसहित पहिले १८ जना डीआईजी रहेका थिए।
त्यस्तै, कीर्तिपुरस्थित निलबाराही गणलाई दंगा नियन्त्रण गणमा रूपान्तरण गरिएको छ। यस अघि एसपीले कमाण्ड गर्दै आएको उक्त गणलाई स्तरोन्नति गरेर अब एसएसपी कमाण्डमा संचालन गरिने भएको हो।
दंगा नियन्त्रण क्षमतामा वृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले काठमाडौंमा एसएसपी कमाण्डमा छुट्टै दंगा नियन्त्रण गण स्थापना गर्न प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले सो प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो।















