Logo

सांकेतिक : फाईल फोटो

४ मंसिर, काठमाडौँ । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा गरिएको आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी तथा बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका छन्। पक्राउबारे जानकारी प्रदेश प्रहरी कार्यालयका नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले पुष्टि गरेका छन्।

डीएसपी सिंहका अनुसार भदौ २४ गतेको आन्दोलनका क्रममा अदालत परिसरभित्र पार्किङमा रहेका सवारीसाधन, कार्यालय भवनका संरचना, कम्प्युटर लगायतका सूचना प्रविधिसम्बन्धी उपकरणमा व्यापक आगजनी तथा तोडफोड गरिएको थियो। त्यस्तै, मुद्दासम्बन्धी हजारौं सक्कल मिसिल समेत जलेर नष्ट भएको थियो।

उक्त घटनासम्बन्धी अनुसन्धानको लागि जिल्ला अदालतले दिएको जाहेरीका आधारमा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य निरन्तर जारी रहेको डीएसपी सिंहले बताए।

अदालतका अनुसार आगजनीका कारण २००७ सालदेखि संकलन भइरहेका ३० हजारभन्दा बढी मुद्दाका मिसिल पूर्णरूपमा जलेर नष्ट भएका छन्। सम्पूर्ण भौतिक तथा कागजी क्षतिबाट करिब ११ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्राथमिक अनुमान गरिएको छ।


सम्बन्धित समाचार