४ मंसिर, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार, कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने अत्यधिक मात्रामा विषादी फेला परेको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १५ वटा पसलमा विभिन्न १५ थरी तरकारी तथा फलफूलको परीक्षण गर्दा भक्तपुरबाट बिक्रीका लागि ल्याइएको हरियो धनियाँमा ५५ दशमलव २९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६ दशमलव ५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । परीक्षणको नतिजा अनुसार, विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भेटिएकाले यी दुई तरकारीलाई उपभोगका लागि अयोग्य घोषणा गरिएको छ ।
सरकारी मापदण्डअनुसार, विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम हुँदा मात्रै तरकारी उपभोग योग्य मानिन्छ र ३५ देखि ४५ प्रतिशतसम्म भेटिए केही दिन पर्खेर मात्र उपभोग गर्न सकिन्छ । तर, धनियाँ र काँक्रोमा मापदण्डभन्दा धेरै विषादी भेटिएपछि उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा रहेको संकेत गर्दछ।
कालीमाटी बजारमा यसरी अत्यधिक विषादी भेटिएको यो पहिलो घटना भने होइन । यसअघि असोज २३ गते हरियो फर्सी, काँक्रो र घिरौँलामा, असोज ३० गते अकबरे खुर्सानीमा, र असारको अन्तिम साता रायो साग तथा घिउसिमी लगायतमा पनि अत्यधिक विषादी भेटिएको थियो । यसले बजारमा भित्रिने तरकारीमा विषादीको प्रयोग निरन्तर उच्च रहेको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको देखाउँछ।















