Logo

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँका ६५ वर्षीय दिलबहादुर श्रेष्ठ (तीनधारे माइला) को उपचारका क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिएका छन् ।
घटनाक्रम अनुसार, दुईवटा यात्रुवाहक बसहरू यात्रु चढाउने क्रममा तँछाडमछाड गरिरहेका बेला बा २ ख ६५७९ नम्बरको बस अनियन्त्रित भई श्रेष्ठलाई ठक्कर दिएको थियो । गम्भीर घाइते श्रेष्ठलाई तत्काल धुलिखेल अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको दुःखद निधन भएको हो ।

श्रेष्ठको मृत्युपछि आक्रोशित स्थानीय बासिन्दाहरूले अरनिको राजमार्ग अवरुद्ध पारेका छन्। उनीहरूले मृतकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएका हुन् ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङले राजमार्ग अवरुद्ध भएको पुष्टि गर्दै स्थिति सामान्यीकरणको प्रयास भइरहेको बताएका छन् । पाँचखाल नगरप्रमुख खरेलले पनि पीडितलाई क्षतिपूर्ति दिलाउने र अवरुद्ध राजमार्ग खुलाउने विषयमा पहल भइरहेको जानकारी दिएका छन् ।


सम्बन्धित समाचार