Logo

४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता-कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बनेको बाराको सिमरा बजारमा आज पनि दिनभर तनावग्रस्त अवस्था रहेको छ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले पक्षका नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको भन्दै जेनजी युवाहरूको ठूलो समूह सिमरा बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएपछि अवस्था बिग्रिएको हो । प्रदर्शनकारी युवाहरूले सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै विरोध गरिरहेका छन् ।  प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

यो झडपमा परेर दुवै पक्षका केही व्यक्तिहरू सामान्य घाइते भएका छन् । जेनजी युवाहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि सुरक्षाकर्मीहरू पछि हट्न बाध्य भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । डीएसपी जोशीका अनुसार, प्रहरीले हिजोको प्रदर्शनको नेतृत्व गर्नेहरूसँगको समझदारी अनुसार कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरी म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको छ ।

तर, प्रदर्शनकारीहरूले भने पक्राउ परेका व्यक्तिहरूलाई सिमरा चोकमा ल्याउनुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्, जसले गर्दा समस्या समाधानमा जटिलता आएको छ। हाल सडकमा ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएर नाराबाजी गरिरहेकाले सिमरा क्षेत्रको अवस्था अझै नियन्त्रणबाहिर रहेको छ ।


सम्बन्धित समाचार