४ मंसिर, काठमाडौैं । बाराको सिमरामा जारी जेनजी युवाहरूको प्रदर्शन र तनावका बीच जिल्ला प्रशासन कार्यालय बाराले अन्ततः संवादको पहल थालेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी अगुवाहरूलाई वार्ताका लागि आह्वान गरेका छन् । सीडीओ मिश्रले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेरै संवादबाटै अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। यद्यपि, वार्ताको स्थानको विषयमा भने दुई पक्षबीच मतभेद देखिएको छ ।
जेनजी अगुवा उपाध्यायका अनुसार, सीडीओ मिश्रले प्रदर्शनकारीहरूलाई जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) मा बोलाएका थिए, तर आफूहरू त्यहाँ जान नसक्ने अडान राख्दै सीडीओलाई इलाका प्रहरी कार्यालय सिमरा मा आएर वार्ता गर्न भनेका छन् ।
उपाध्यायले सीडीओ कार्यालयसम्म जाँदा प्रहरीको लाठीचार्जबाट धेरै जेनजी युवा घाइते भएको अवस्थामा भीड पनि त्यतै जान सक्ने र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै सुरक्षा संवेदनशीलताका कारण सिमरामै वार्ता हुनुपर्ने अडान राखेका हुन् । यसरी सिमराको तनाव कम गर्न वार्ताको पहल भए पनि स्थानको विषयले गर्दा संवाद सुरु हुन सकेको छैन।















