४ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा जेनजी आन्दोलनका कारण उत्पन्न भएको तनावपूर्ण परिस्थितिलाई गम्भीर रूपमा लिँदै शान्ति सुरक्षा मजबुत बनाउन नेपाल सरकारलाई औपचारिक निर्देशन दिएको छ ।
आयोगले सिमराको स्थिति सामान्यीकरण गर्न र मानव अधिकारको सुनिश्चितताका लागि सबै सम्बन्धित निकायलाई सहयोग पुर्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरण सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचार को व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’ आयोगले सबै पक्षलाई संयमता अपनाएर स्थितिलाई सामान्यीकरण गर्न सहयोग पुर्याउन पनि आग्रह गरेको छ ।
आयोगको प्रारम्भिक अनुगमन अनुसार, बुधबारको विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढेको र झडप हुँदा विमानस्थलको गेटमा क्षति पुगेको, उडानहरू प्रभावित भएको र स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपरेको पाइएको छ । आयोगले हालसम्म पाँच जना घाइते भएको विवरण प्राप्त गरेको र उनीहरूको नगर अस्पतालमा उपचार भइरहेको जनाएको छ । साथै, घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको जानकारी पनि आयोगलाई प्राप्त भएको छ ।
आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा यस्ता घटनाहरू हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भन्दै आयोगले सरकार र सबै सरोकारवाला पक्षलाई सचेत गराएको छ । आयोगले यो घटना संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हकको हनन हुनुका साथै आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्ने विषय भएको ठहर गरेको छ।















