४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जेनजी युवाहरूको प्रदर्शन र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्थितिलाई थप बिग्रन नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गरेका छन् । प्रचण्डले लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुने भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति विपरीत हुने धारणा राखेका छन् । उनले सरकारलाई राजनीतिक दलका नेताहरूलाई निर्वाधरूपमा हिँडडुल गर्न र सभा(सम्मेलन गर्न पाउने गरी राजनीतिक तथा वाक(स्वतन्त्रताको सम्मान गर्दै वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएका छन् ।
साथै, उनले घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक असर नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न पनि सबै पक्षसँग आग्रह गरेका छन् । प्रचण्डले बाराका स्थानीय पार्टी समितिहरूलाई पनि परिस्थितिलाई सामान्य बनाउनका लागि आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
यो विवाद नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू कार्यक्रमका लागि बारा जाने भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गर्दा एमाले कार्यकर्ताले हातपात गरेपछि उत्कर्षमा पुगेको हो । हिंसा भड्किएपछि सिमरामा हिजोदेखि नै कर्फ्यु लगाइएको छ।















