५ मंसिर, काठमाडौँ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बनेपछि आन्दोलनभित्रकै केही समूह असन्तुष्ट हुँदै आएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका निकट मानिने अर्याललाई गृहमन्त्री बनाइएको भन्दै सुरु भएको आलोचना पछिल्लो समय झनै चर्किएको छ ।
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमार्फत एकपछि अर्को अभिव्यक्ति दिँदै गृहमन्त्री अर्यालको तत्काल राजीनामा माग बढाउँदै लगेका छन्। बुधबार सिमरामा भएको घटनापछि उनी झनै आक्रामक देखिएका छन्। गुरुङ निकट समूहका जेनजीहरूका अनुसार यदि गृहमन्त्रीले राजीनामा नदिए आन्दोलनसम्म लैजानुपर्ने स्थिति आएको छ।
प्रधानमन्त्री कार्कीले अर्याललाई गृहमन्त्रीमा सिफारिस गर्ने संकेत सार्वजनिक भएपछि नै गुरुङले कडा असन्तुष्टि जनाएका थिए। उनले त्यतिबेला नै ‘आन्दोलन हाइज्याक भएको’ आरोप लगाउँदै राति बालुवाटार पुगेर प्रधानमन्त्रीको राजीनामा मागेका थिए।
गुरुङले भनेका थिए, “हाम्रो आन्दोलन हाइज्याक भयो। पावरफुल नेपाली जनतालाई कसैले रोक्न सक्दैन। जहाँ राखेका छौँ, त्यहीँबाट थुतेर निकालिदिन्छौँ।”
गुरुङ पछिल्लो केही दिनयता लगातार गृहमन्त्रीविरुद्ध अभिव्यक्ति दिइरहेका छन्। मंगलबार मात्रै उनले ‘शहीदहरूको रगतलाई न्यायले जिस्क्याइरहेको’ आरोप लगाउँदै गृहमन्त्री अर्याललाई सोधे “बच्चाहरूको रगतले लतपत्रिएको कुर्सीमा बसेर हत्याराहरू हाँस्दै हिँड्दा टुलुटुलु हेरेर बस्न लाज लाग्दैन?”
उनका पोस्टहरू ‘द काउन्सिल अफ जेनजी’ को लोगो प्रयोग गरेर सार्वजनिक भइरहेका छन्। तर सो समूहका प्रदेश संयोजकहरूले भने यसबारे आफूहरूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।
मधेश, बागमतीलगायतका प्रदेश संयोजकहरूले गुरुङका पोस्ट समूहको आधिकारिक धारणा नभएको स्पष्ट पारेका छन् । कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङले भने, “गृहमन्त्रीको राजीनामा माग्ने समय अहिले होइन। काम गर्न दबाब दिने हो। राजीनामाको विषय गुरुङको व्यक्तिगत धारणा हो।”
केही संयोजकहरूले गुरुङको एकल निर्णयले आफूहरू ‘अप्ठ्यारोमा परेको’ पनि बताए ।
गुरुङ निकट जेनजी अगुवा अनिल बानियाँले गृहमन्त्रीले २३ भदौको ‘नरसंहार’मा संलग्न व्यक्तिमाथि कुनै कार्रवाई नगरेकाले असन्तुष्टि बढेको दाबी गरे।
उनका अनुसार, “हिजो सडकमा रहेर अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै आवाज उठाउने अहिले सत्तामा आएर मौन बसे। त्यसैले दाइ (गुरुङ) आक्रामक हुनु भएको हो।”
गृहमन्त्रीविरुद्ध दबाब बढिरहे पनि प्रधानमन्त्री सुशीला कार्की भने अर्यालप्रति पूर्ण सन्तुष्ट रहेको प्रधानमन्त्रीनिकट स्रोतहरूले दाबी गरेका छन् । स्रोतका अनुसार सुरक्षा संयन्त्रमा पछिल्ला दुई महिनामा सुधार देखिएकोले सरकारले बाहिरी दबाबमा कुनै निर्णय नगर्ने बताइएको छ।
स्रोतका शब्दमा, “गृहमन्त्रीले गल्ती गरेको देखिए मात्र फेरबदलको प्रश्न आउँछ। बाहिरी दबाबले प्रधानमन्त्री प्रभावित हुनुहुन्न।”
जेनजी आन्दोलनको उत्प्रेरणाबाट बनेको यो सरकारभित्र अहिले आन्दोलनकै अगुवा र नेतृत्वबीच तिक्तता बढ्दै गएको देखिन्छ। सुदन गुरुङले कार्यपत्रकमा छापिने जस्तो आक्रमक अभियान चलाइरहेका छन् भने गृहमन्त्री अर्याल प्रधानमन्त्रीको पूर्ण विश्वासमा छन् ।
भित्रभित्रै विभाजन बढ्दै गएको जेनजी समूह आगामी राजनीतिक स्थिरतामा कति प्रभाव पार्छ, अबको मुख्य प्रश्न यही बनेको छ ।















