७ मंसिर, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा शनिबार क्रिकेट खेलिसकेपछि घर फर्किएका दाजु–भाइमध्ये १३ वर्षीय बालक राकेश यादव बेहोस भएर मृत्यु भएका छन्। उनका १६ वर्षीय दाजु रुपेश यादव पनि बेहोस भएर हाल अस्पतालमा उपचाररत छन्।
स्थानीयका अनुसार, राकेश र रुपेश शनिबार घर नजिकैको खेल मैदानमा क्रिकेट खेलेर फर्कँदै थिए। घर पुगे लगत्तै राकेश बेहोस भई ढलेका थिए। तत्काल उनलाई स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
राकेशका बुवा किसुनदेव यादवले बताएअनुसार, “खेलबाट फर्किएलगत्तै राकेश बेहोस भए र ढले। तत्काल उपचारका प्रयास भए पनि बचाउन सकिएन।”
दाजु रुपेश यादवको अस्पतालमा उपचार भइरहेको छ भने उनका स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डकबरबहादुर पुरीले घटनाको प्रारम्भिक विवरण दिँदै भने, “मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र पत्ता लाग्नेछ। घटनाको थप अनुसन्धान भइरहेको छ।”
सप्तरीमा यस्ता आकस्मिक घटनाले स्थानीय समुदायमा शोक र चासो बढाएको छ।















