८ मंसिर, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायी र सरकारी कर्मचारीको जिम्मेवारीप्रतिको लापरवाहीका कारण राज्यले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको बताएका छन् ।
नेपाल इन्जिनियरिङ परिषद्ले आइतवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रका धेरै आयोजना ठेक्का लिने कम्पनीले समयमै काम नगर्ने, लापरवाही गर्ने तथा कार्यान्वयनमा गम्भीर कमजोरी देखाउने प्रवृत्ति बढ्दो समस्याका रूपमा रहेको बताए।
उनका अनुसार, निर्माण व्यवसायीहरूले लिएका ठेक्का समयमै पूरा नगर्दा र सरकारी कर्मचारीहरूले आफ्नो जिम्मेवारीअनुसार आवश्यक निर्णय समयमा नगर्दा सरकारले ठूलो मूल्य तिर्नुपरेको छ।
घिसिङले प्राविधिक दक्षता र कार्यसम्पादन क्षमताको कमीले सार्वजनिक पूर्वाधारका महत्वपूर्ण परियोजनाहरू ढिलो हुने, लागत बढ्ने र जनताले अपेक्षित सेवा समयमा नपाउने अवस्थाले राज्यलाई थप ठूलो नोक्सानी पु¥याइरहेकामा चिन्ता व्यक्त गरे।
मन्त्री घिसिङले आयोजनाहरू समयमा सम्पन्न नहुँदा रोजगारी सिर्जना, उत्पादन वृद्धि, कुल ग्राहस्र्थ उत्पादन (GDP) मा योगदान र अन्य दीर्घकालीन आर्थिक लाभ गुमिरहेको स्पष्ट पारे। उनले समयमै निर्णय नहुँदा परियोजना कार्यान्वयनमा देखिने जटिलता मात्र नभई, राष्ट्रिय विकासको गतिकै अवरोध समेत पैदा भएको उल्लेख गरे।
कार्यक्रममा मन्त्रीले इन्जिनियरिङ क्षेत्रका पेशेवरहरूलाई उच्च प्राविधिक दक्षता, पारदर्शिता र उत्तरदायित्वसहित काम गर्न आग्रह गर्दै पूर्वाधार विकासमा गुणस्तर र समयपालनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।















