११ मंसिर,सेढवा । कृषिमा आधुनिक प्रविधि र मेसिनहरूको प्रयोग बढ्दै जाँदा किसानको काम सहज बन्दै गएको छ । तर यससँगै समुदायभित्र सामाजिक रूपमा सेवा गर्दै आएका चौकीदार, गाउँदार, ब्राह्मण तथा हजाम वर्गले भने परम्परागत रूपमा पाउँदै आएको वार्षिक ज्याला उठाउन कठिनाइ भएको गुनासो गर्दै आएका छन्।
जिराभवानी गाउँपालिका–२ सेढवाका चौकीदार भोकट हाजरा दुसादका अनुसार किसानहरूले धानबाली भित्र्याउन हार्भेस्टर प्रयोग गर्न थालेपछि चौकीदार र गाउँदारको परम्परागत भाग मानिने ‘बिसहर’ समेत मेशिनले काटेर लगेपछि ज्याला पाउन झनै कठिन भएको छ।
परम्परागत रूपमा किसानले धान लगाएको प्रत्येक गाराको पूर्व–आलीछेउका एक गाज बराबर क्षेत्रफल चौकीदारलाई र उत्तर–आलीछेउका एक गाज गाउँदारलाई दिने चलन रहँदै आएको छ। तर मेशिनका कारण यो प्रथा व्यवहारमा लोप हुँदै गएको दुसादको भनाइ छ।
“कुनै किसानले समयमै ज्याला दिए पनि धेरैले धान भकैरीमा जािसक्यो, बेचिसकियो भनेर टार्ने गरेका छन्,” दुसादले गुनासो गर्दै भने, “हामीले वर्षभरि गाउँमा सूचना फैलाउनेदेखि लिएर अन्य काम गर्छौँ, तर ज्याला लिनै कठिन भयो।”
गाउँदारले सुत्केरी गराउने (सुडनी), चौपाया मरेमा गाड्ने वा फाल्ने, चौकीदारले गाउँभरि सूचना प्रवाह गर्नेजस्ता दैनिकीका काम वर्षभरि गर्छन्। यी सेवाको बदलामा समुदायबाट वार्षिक धानद्वारा पारिश्रमिक दिने परम्परा रही आएको हो।
यस्तै, पूजापाठ र विवाह–संस्कार गराउने ब्राह्मणहरूले पनि वर्षभरिका सेवाको बदलामा पाउने पारिश्रमिक दिन कठिन भएको गुनासो गरेका छन्। पटेर्वासुगौली गाउँपालिका–५ निचुटाका ब्राह्मण प्रमोद उपाध्यायले एक घरधुरीबाट चार पसेरीदेखि एक मन (२०–८० केजी) धान वार्षिक ज्याला हुने परम्परा रहे पनि हाल त्यही ज्याला उठाउन समस्या भएको बताए। “दक्षिणा त लगभग बन्दैजस्तै भयो,” उपाध्यायले भने।
घरायसी पूजा–पाठमा सहयोग गर्ने तथा समुदायका पुरुषहरूका कपाल काट्ने हजाम वर्गले पनि समस्यामै परेको बताएका छन्। परम्पराअनुसार एक पुरुष बराबर छ पसेरी (३० केजी) धान लिने चलन रहे पनि अहिले त्यसमा निरन्तरता दिन परिवारहरू अनिच्छुक हुँदै गएको हजामहरूले बताएका छन्।
समुदायका अनुसार आधुनिक कृषि प्रविधिको विस्तारले सहजता त दिएको छ, तर दशकौँदेखि चल्दै आएको पारम्परिक ज्यालादारी प्रथामा ठूलो चुनौती खडा गरेको छ। प्रभावित वर्गहरूले स्थानीय सरकार र समुदायसँग मिलेर उचित समाधान निकालिदिन माग गरेका छन्।

















