१२ मंसिर,वीरगञ्ज । गहुँ बालीको सिजन सुरु हुन लाग्दै गर्दा भारतले यस वर्ष नहरमार्फत पानी उपलब्ध गराउन नसक्ने जनाएको छ। भारतीय पक्षको यो निर्णयले गण्डक नहरमा निर्भर पर्सा, बारा र रौतहटका हजारौं किसान सिँचाइबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। पानी अभावका कारण गहुँ उत्पादनमा ठूलो कमी आउने आशंकाले किसानहरू चिन्तित बनेका छन्।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतको बिहार रामनगरस्थित गण्डक नहर दोअन कनाल कार्यालयले आफ्नो माथिल्लो निकाय बेतियास्थित कार्यालयलाई पठाएको पत्रको बोधार्थ मात्र नेपालतर्फ पठाइएको हो।
‘भारतीय पक्षले हामीलाई प्रत्यक्ष पत्राचार गरेको छैन, त्यसैले हामीले औपचारिक पत्र मागिरहेका छौँ,’ साहले भने। ‘उक्त पत्रमा यस वर्ष भारतमै नहर सफाइ तथा मर्मतसम्भारका काम ठेकेदारमार्फत हुने भएकाले हिउँदभर पानी नछोडिने उल्लेख छ।’
नेपालतर्फका अधिकारीहरूले संघीय सिँचाइ विभागलाई भारतीय पक्षको असमर्थताबारे जानकारी गराइसकेका छन्। साहका अनुसार कार्यालय स्तरमा भारतसँग संवाद प्रयास भइरहे पनि यो द्विपक्षीय विषय भएकाले सिँचाइ विभागले पनि कूटनीतिक रुपमा पहल बढाउनुपर्ने आवश्यकता छ।
हाल नहरमा नयाँ पानी आइरहन छोडेको छ र बचेको पानी पनि सुक्न थालेको छ। पानी पूर्ण रूपमा सुकिसकेपछि भारतले मर्मत कार्य सुरु गर्नेछ, जसपछि गहुँ बालीका लागि पानी दिन सम्भव हुँदैन। तर साहको भनाइ अनुसार नेपाली किसानलाई आवश्यक पर्ने छोटो अवधिको सिँचाइका लागि भारतीय पक्षले केही समय पानी छोडिदिएपछि मात्र मर्मत सुरु गर्न सकिने विकल्प पनि छ।
केही दिनमै किसानहरूले गहुँ रोपाइँ सुरु गर्नेछन्। बाली उम्रिएपछि कम्तीमा एकपटक सिँचाइ आवश्यक हुन्छ। गण्डक सम्झौताअनुसार भारतले गहुँ सिजनमा नहरमा ८५० क्युसेक पानी छोड्नुपर्छ। तर पछिल्ला वर्षहरूमा भारतीय भूभागमा नियमित मर्मतसम्भार नहुँदा र पानी नआउँदा नहरको अन्तिम भाग—रौतहटको पूर्वी क्षेत्र—सम्म पर्याप्त पानी नपुग्ने समस्या रहँदै आएको छ।
गण्डक नहरअन्तर्गत ३७ हजार ४ सय हेक्टर क्षेत्र सिँचाइयोग्य छ। पर्सामा करिब १६ हजार हेक्टर, बारामा ९ हजार हेक्टर र बाँकी क्षेत्र रौतहटमा पर्दछ। सम्झौताअनुसार बर्सेनि असार १५ मा धान र पुस १५ मा गहुँ बालीका लागि भारतले नहरमा पानी उपलब्ध गराउनुपर्नेछ।
नवलपरासीको त्रिवेणी–भैसालोटनस्थित सीमास्थित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्छ। भारतको ९२ किमी दूरी पार गरेर नहर पर्साको जगरनाथपुर हुँदै नेपाल प्रवेश गर्छ। नेपालतर्फ १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ ८१ किलोमिटर छ र अन्त्यमा रौतहटको बागमती नदीमा मिसिएर समाप्त हुन्छ।

















