Logo

१३ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले एघारौँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट प्रक्रिया सञ्चालन गर्दै छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार मंसिर ११ गते नै सबै क्षेत्रबाट उम्मेदवारी दर्ता भइसकेपछि केही जिल्लामा सहमतिमा प्रतिनिधि चयन सम्पन्न भएको छ भने बाँकी स्थानमा बिहान ८ बजेदेखि मतदान भैरहेको छ। अधिकांश क्षेत्रमा मतदान समय दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवाको समावेशीसहित करिब २ हजार प्रतिनिधि निर्वाचनमार्फत छानिँदै छन्। यस्तै, प्रवास, जनसंगठन तथा विभिन्न विभागबाट करिब १०० प्रतिनिधि चयन हुनेछन्। मनोनीतसहित महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।

प्रतिनिधि चयनका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्ताव सचिवालयले पारित गरी मातहतका कमिटीमा पठाइसकेको छ। पार्टी सचिवालयको कात्तिक १५ गतेको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्रलाई आधार मानी प्रति १२०० संगठित सदस्यबाट खुला दुई र महिला एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने व्यवस्था छ। यस क्रममा एक प्रतिनिधि ४० वर्षभन्दा कम उमेरको युवा अनिवार्य हुनेछ।

त्यसैगरी, ८०० सदस्यमा एक महिला प्रतिनिधि, ५०० सदस्यमा एक दलित प्रतिनिधि छान्ने प्रावधान तोकिएको गौतमले जानकारी दिए। ट्रेड युनियनतर्फ प्रदेशबाट सात प्रतिनिधि रहनेछन्। प्रत्येक जनसंगठनबाट पाँच प्रतिनिधि र महासङ्घीय ढाँचाका जनसंगठनबाट सात प्रतिनिधि रहने व्यवस्था छ। विभाग र कार्यालयबाट एक–एक तथा प्रवासबाट महादेशअनुसार पाँच प्रतिनिधि छनोट गरिनेछ।

केन्द्रीय कमिटीका ३५४ सदस्य स्वतः प्रतिनिधि हुनेछन्। त्यसमा २९ जना अनुशासन आयोग, ३० जना लेखा आयोग, २५ जना निर्वाचन आयोग र २५ जना सल्लाहकार परिषद्का सदस्यसमेत समावेश हुने भएकाले यी संरचनाबाट मात्र ४६४ जना स्वतः प्रतिनिधि रहनेछन्।

एमालेका कुल ६ लाख ६७ हजार ६३० संगठित सदस्यमध्ये प्रदेश र प्रतिनिधिसभा क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवास तथा जनसंगठन, विभाग र कार्यालयमार्फत गरी करिब १९ सयभन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ। अतिरिक्त पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।

सचिवालयको पछिल्लो निर्णयअनुसार प्रतिनिधि संख्या केही बढ्ने गरी सदस्य संख्याको अनुपात परिमार्जन गरिएको गौतमले बताए। उनका अनुसार प्रतिनिधि छनोटको सम्पूर्ण विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ।

एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने कार्यक्रम छ।


सम्बन्धित समाचार