१३ मंसिर,काठमाडौं । विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले आगामी मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको छ।
शुक्रबार साँझ बसेको रास्वपाको विशेष भर्चुअल केन्द्रीय समिति बैठकले दुई पार्टीबीच एकीकरणका लागि आइतबार नै राष्ट्रिय सभागृहमा औपचारिक ‘एकता घोषणासभा’ गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार बैठकले सुशासन र समुन्नति प्रति सरोकार राख्ने सबै सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिसँग मुद्दागत र सांगठनिक सहकार्यलाई बढाउँदै लैजान ‘उच्च संवाद समिति’ लाई थप सक्रिय बनाउन निर्देशन दिएको छ। सो निर्देशनअनुसार पार्टी सचिवालयले गठन गरेको संघीय नेतृत्व मञ्च लाई पनि केन्द्रीय समितिले अनुमोदन गरेको झाले बताए।
एकीकरण प्रक्रियालाई अन्तिम रूप दिने तयारीसहित दुवै पार्टीबीच आन्तरिक संवाद तीव्र भइरहेको रास्वपा नेतृत्वको भनाइ छ।

















