Logo

१५ मंसिर,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तारका लागि मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना हटाउने तयारी गरिएको छ। सडक सीमाभित्र पर्दा सहजै हट्नुपर्ने स्थायी तथा अस्थायी टहरा–घरबारे मङ्सिर ५ गते नै सूचना जारी गरिए पनि स्थानीयले चासो नदेखाएपछि बाध्य भएर कार्यालय अघि बढ्न लागेको हो।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडक विस्तारका क्रममा दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ संरचना हटाइनेछ। पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडक क्षेत्रमा रहेको अतिक्रमण हटाइने योजना छ।

विस्तार हुने साढे ९ किलोमिटर सडक क्षेत्रमा नेपाल बैंक, हिमालयन बैंक तथा तीनवटा पेट्रोल पम्पसहितका भौतिक संरचना पर्न आएका छन्। ती पेट्रोल पम्प नयाँ स्थानमा सरिएपछि मात्र पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिन नेपाल आयल निगमलाई पत्राचार गरिसकेको डिभिजन कार्यालयले जनाएको छ।

स्थानीयले पटक–पटकको सूचना बेवास्ता गरेको भन्दै जिल्लामा विशेष ‘टास्क फोर्स’ गठन गरेर काम अघि बढाइएको छ। सूचना अधिकारी इञ्जिनियर यादव सुवेदीको संयोजकत्वमा बनेको टास्क फोर्सले नाप–नक्सा, रेखाङ्कन र रङ लगाउने कार्य सुरु गरिसकेको छ। उपमहानगरपालिका, जिल्ला प्रहरी, नापी, खानेपानी, वन कार्यालय, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू समितिमा समावेश छन्।

एडीबीबाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले अब सडक विस्तारलाई तीव्रता दिन लागिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए। उनका अनुसार विस्तारका क्रममा खानेपानी, विजुली, टेलिफोनजस्ता अत्यावश्यक सेवा अवरोध नहोस् भनेर सबै निकायसँग समन्वय भइरहेका छन्।

गत शुक्रबार जारी गरिएको सार्वजनिक सूचनामा पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत सडकको मध्यभागबाट दायाँ–बायाँ २५/२५ गजभित्र पर्ने सबै स्थायी तथा अस्थायी संरचना १५ दिनभित्र हटाउन भनिएको छ। तोकिएको समयमै संरचना नहटाए डिभिजन कार्यालयले स्वयं भत्काइनेछ र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित धनीबाटै असुल गरिने चेतावनी दिइएको छ।


सम्बन्धित समाचार