Logo

१६ मंसिर, काठमाडौं । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विभिन्न जिल्लाहरूमा देखिएको विवाद मिलाउने जिम्मा पार्टीले सम्बन्धित प्रदेश कमिटी लाई नै दिएको छ ।

सङ्गठन विभागका सचिव माधव ढुङ्गेल ले विवादित क्षेत्रको समस्या समाधान गर्न प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागबाट खटाइएका प्रतिनिधि ले सहजीकरण गर्ने जानकारी दिनुभएको छ । एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छनोट गरी मङ्सिर १५ भित्र नाम केन्द्रमा पठाउन सर्कुलर गरे पनि आन्तरिक अन्तर्विरोधका कारण समयमै नाम केन्द्रमा आइपुगेको छैन । ढुङ्गेलका अनुसार, विवाद देखिएका कतिपय स्थानमा समस्या समाधान भइसकेको छ भने बाँकी स्थानमा आज बेलुकासम्म मिलाउने प्रयास जारी छ ।

विवाद देखिएका प्रमुख क्षेत्रहरूमा सुदूरपश्चिमको बझाङ (दोहोरो समस्या), मधेसको पर्सा र रौतहट, गण्डकीको तनहुँ क्षेत्र नम्बर १, र कोशी प्रदेशका ओखलढुङ्गा र धनकुटा रहेका छन् । कर्णालीको दैलेख र सल्यानको समस्या भने टुंगिसकेको बताइएको छ।

हाल प्रदेश कार्यालयहरूमा तल्लो तहबाट आएका प्रतिनिधिको नाम संकलन र डेटा अद्यावधिक गर्ने काम भइरहेको र बुधबारभित्र सम्पूर्ण प्रतिनिधिहरूको नाम केन्द्रमा आउने सचिव ढुङ्गेलको भनाइ छ ।
एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ, जहाँ केपी शर्मा ओली र ईश्वर पोखरेल समूह नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।


सम्बन्धित समाचार
भर्खरै