Logo

१७ मंसिर,मकवानपुर ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध गरे कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

बुधबार सार्वजनिक गरेको सूचनामा प्रशासनले सडक विस्तारलाई रोक्न खोज्ने, धम्की दिने वा कुनै पनि किसिमले दुव्र्यवहार गर्ने समूह तथा व्यक्तिमाथि कडा निगरानी राखिएको जनाएको छ। प्रशासनले सडक डिभिजन कार्यालयको अभियानलाई निर्वाध रूपमा अघि बढ्न आग्रह गर्दै कानुन विपरीत क्रियाकलाप नगर्न सबैलाई अनुरोध गरेको छ।

यस्तै, सडक डिभिजन कार्यालय मकवानपुरले मङ्सिर ५ गते नै सूचना जारी गर्दै हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि आवश्यक तयारी पूरा भइसकेको जानकारी दिएको थियो।

‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधिमा संलग्न व्यक्तिहरूप्रति पूर्ण सचेत रहेको छ,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ, ‘यदि कसैले कानुन बर्खिलाप गरी सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिनेछ।’

प्रशासनले सडक विस्तारलाई द्रुत गतिमा अघि बढाउन स्थानीयवासी, व्यवसायी तथा सबै सरोकारवालाको सहकार्य पनि अपेक्षा गरेको छ।


सम्बन्धित समाचार