Logo

१७ मंसिर,वीरगञ्ज । बाराको पथलैया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको मुख्य गेट अगाडि सवारी चालकहरूले धर्ना दिएका छन्।

मंगलबारदेखि मधेश प्रदेशका जिल्लाहरूमा ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका सवारीहरूलाई अनावश्यक रूपमा रोक्न थालेको आरोपमा चालकहरूले बुधबार दिउँसोदेखि ट्राफिक कार्यालय अगाडि धर्ना सुरु गरेका हुन्।

धर्नाका कारण बुधबार दिउँसोसम्म पथलैयामा मात्रै करिब डेढसय बढी गाडीहरू सडकमा रोकिएका छन्।

बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट पराल तथा भुस बोकेको गाडीहरू रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। तराईका जिल्लाबाट हेटौंडा, चितवन, धादिङ, काठमाडौं, पोखरा लगायतका स्थानमा जाने गाडीहरूलाई समेत सडकमा रोकेर चालकहरूले धर्ना दिएका छन्।

चालकहरू भन्छन् कि पराल र भुस ढुवानीको मुख्य सिजनमा पनि ट्राफिक प्रहरीले ओभरलोडको बहानामा अनावश्यक रूपमा दु:ख दिइरहेको छ। उनीहरूको आरोप छ कि किसानका उत्पादन बोकेको सवारीलाई सहुलियत दिनु पर्ने ठाउँमा ट्राफिक प्रहरीले उल्टै समस्या सिर्जना गरेको छ।

नेपाल च्याउ उत्पादक किसान संघका केन्द्रिय अध्यक्ष सन्तोष कार्कीले भने, “पशुपालन र च्याउ खेती गर्ने किसानले पराल भण्डारण गर्ने बेलामा ट्राफिकले अवरोध गर्दा हामी निकै समस्यामा परेका छौं। गाडी रोक्ने काम यसअघि पनि हुँदै आएको छ, तर मुख्य सिजनमा यस्तो अवरोधले धेरै कठिनाइ निम्त्याएको छ।”

यस विषयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालले भने, “भब्बर लोड भएका सवारीले राजमार्गमा क्षति र दुर्घटनाको जोखिम बढाउँछन्, त्यसैले हामी सक्रिय छौं।”

एसपी सिलवालले थपे, “वजन कम भए पनि पराल तथा भुस बोकेको सवारीले ट्रयाक्टर वा ट्रकको मालसामान राख्ने भागभन्दा माथि सामान राखेर ढुवानी गर्दा राजमार्गमा जोखिम बढिरहेको छ।”


सम्बन्धित समाचार