Logo

१७ मंसिर,वीरगञ्ज । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आह्वान गरेका छन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन पाउने प्रदेश सभा सदस्यले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आग्रह गरेका हुन्। आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ।

यो कदम नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि आवश्यक भएको हो। यादवको नेतृत्वमा सरकारले गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा शपथ लिएर कार्यभार सम्हालेको थियो। तर, २२ दिनमै विश्वासको मत नपाउने अवस्था देखिएपछि उनले बुधबार राजीनामा दिएका हुन्।

यादवले राजीनामा दिनुमा सर्वोच्च अदालतको २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने परमादेश महत्वपूर्ण कारण बनेको थियो। प्रदेश सभा बैठकमा विश्वासको मत नपाउने निश्चित भएपछि यादवले यो कदम चाल्नुपरेको हो।


सम्बन्धित समाचार