१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्धारित मितिमै आमनिर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण रूपमा जुटिसकेको स्पष्ट पारेकी छिन् ।
आज २२ औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते आमनिर्वाचन गराएर युवा शक्तिको हातमा सत्ता सुम्पनु सरकारको प्रमुख दायित्व रहेको र यसबाट मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउने लक्ष्य रहेको बताइन् ।
उनले निर्वाचन अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा राखेकी छिन्। यस क्रममा प्रधानमन्त्रीले गत भदौको जेनजी आन्दोलनबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउँदै, युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी, तथा गाँसबास-कपासको सुनिश्चितता जस्ता मागहरू पूरा गर्नका लागि सबै नेपालीले आ-आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएकी छन् ।

















