१९ मंसिर, काठमाडौं । आगामी निर्वाचनहरूको तयारीलाई लिएर निर्वाचन आयोगले सरकार र प्रमुख राजनीतिक दलहरूलाई एकैसाथ जानकारी गराउने भएको छ ।
निर्वाचनको सुनिश्चितता र तयारीमा सबै पक्षको साझा बुझाइ आवश्यक रहेको ठहर गर्दै आयोगले प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सर्वपक्षीय बैठकमा ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ । यस महत्वपूर्ण भेलामा सरकारका प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, जेनजीका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।
आयोगले यो बैठकलाई राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनको समग्र तयारी, विद्यमान कानुनी जटिलताहरू, स्रोतसाधनको उपलब्धता, निर्वाचनका सम्भावित सुरक्षा चुनौतीहरू र आर्थिक व्यवस्थापन पक्षबारे विस्तृत जानकारी गराउने एक महत्वपूर्ण मञ्चको रूपमा लिएको छ । आयोगका अधिकारीहरूका अनुसार निर्वाचनको वातावरण सहज र विश्वासिलो बनाउनका लागि सरकार र राजनीतिक दलहरूको भूमिका निर्णायक हुने हुँदा पूर्वतयारीलाई चुस्त बनाउन यो ब्रिफिङ अपरिहार्य छ । विशेषगरी, एकातर्फ सरकारले चुनाव गराउने प्रतिबद्धता जाहेर गर्ने र अर्कातर्फ राजनीतिक दलहरूमा विश्वासको कमी हुने अवस्था आउन दिनुहुँदैन भन्नेमा आयोग स्पष्ट रहेको उनीहरू बताउँछन् ।
यस सन्दर्भमा, विगतमा लुटिएका हतियारहरूको अवस्थाबारे सरकारले प्रष्ट पार्नुपर्ने विषयलाई समेत आयोगले सर्वपक्षीय बैठकमा प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते तोकिएको छ, जसमा १३ वटा दलले भाग लिने निश्चित भइसकेको छ भने फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि ११७ वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन्, जसउपर आयोगले अध्ययन गरिरहेको छ।

















