२८ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदैछ।
शनिबार भक्तपुरको सल्लाघारीमा भव्य रूपमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज र भोलि काठमाडौँमा सञ्चालन गरिनेछ। एमालेले बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरेको छ।
महाधिवेशनबाट नेतृत्व चयन हुने क्रममा यसपटक अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन्। दुवै नेताले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका भए पनि बन्दसत्र सुरु हुन लाग्दासम्म दुवै पक्षले आफ्नो–आफ्नो प्यानल सार्वजनिक गरेका छैनन्।
अध्यक्ष पदका प्रत्यासी पोखरेललाई पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको समर्थन रहने बताइएको छ। उक्त समूहलाई ‘ईश्वर–विद्या प्यानल’ का रूपमा घोषणा गरिने चर्चा यसअघि देखि नै चल्दै आएको छ।
आजदेखि देशभरबाट छनोट भई आएका २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन्। एमालेको विधानअनुसार अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ, जसमा अध्यक्ष एक, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्।
महाधिवेशनबाट २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ। सहमतिमा नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना रहेको एमाले नेताहरू बताउँछन्।
















