Logo

१ पौष,पर्सा। संघीय सरकारको लगानीमा ८ वर्षदेखि अलपत्र परेको घोडेमसान सिँचाइ आयोजनाबाट जिराभवानी र ठोरी गाउँपालिकाका किसानहरूले आफ्नै प्रयासमा खोलाको पानी ल्याई हिउँदे बालीमा सिँचाइ गर्न थालेका छन्।

मानव बस्तीबाट करिब २० किलोमिटर टाढा पर्सा राष्ट्रिय निकुञ्जको घना जंगलभित्र रहेको घोडेमसान खोलाको पानी किसानहरूले एक साता अगाडिदेखि ल्याएका हुन्।

जिराभवानी गाउँपालिकाका हरैया, बसन्तपुर, काठमाडौंटोल, तिनटोलिया, शान्तिनगर र ठोरी गाउँपालिका वडा नं ५ मा पर्ने गडुवालाईन, क्षेत्रीलाईन, बथेटोल का किसानहरूले सामूहिक समन्वय र प्रयास गरी खोलाको पानी ल्याउन सफल भएका छन्।

पानी ल्याएपछि सो क्षेत्रका किसानहरूले गहुँबाली, सुर्ती लगायतका हिउँदे बालीहरूमा सिँचाइ गरिरहेको जिराभवानी गाउँपालिका वडा नं १ शान्तिनगरका किसान बाशु श्रेष्ठले जानकारी दिए।

किसान श्रेष्ठका अनुसार, उनीहरूले खोलाको बाँध निर्माण तथा जंगलभित्रको कुलो मर्मतका लागि आवश्यक प्रक्रिया अपनाएर करिब एक महिना अगाडि नै पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनबाट आदेश लिएका थिए।

“आवश्यकताका आधारमा ४०/५० जना किसानहरूको समूह जंगलमा प्रवेश गरी बाँध निर्माण तथा कुलो मर्मत गरी पानी ल्याएको हो,” किसान श्रेष्ठले बताए।

घोडेमसान खोलाको यस पानीले सो क्षेत्रको करिब एक हजार पाँच सय बिघा जमिनमा सिँचाइ गर्न सकिने किसानहरूको भनाइ छ।

जिराभवानी गाउँपालिका वडा नं ५ हरैयाका किसान भोजराज रामका अनुसार, हरैया क्षेत्रमा हरेक वर्ष हिउँदमा किसानहरूले घोडेमसान खोलाको पानी ल्याउने गर्थे। तर, यस वर्ष जिराभवानी गाउँपालिकाका अन्य क्षेत्र र ठोरी गाउँपालिका वडा नं ५ का किसानहरू पनि समन्वय गरी पानी ल्याएको रामले बताए।

उता ठोरी गाउँपालिका वडा नं ५ का देवी प्रसाद दहालका अनुसार, घोडेमसान खोलाको साथसाथै सितलपुर खोलाको पानी पनि ल्याउने प्रयास भइरहेको छ। ती दुईवटै खोलाको पानी ल्याउन सके जिराभवानी र ठोरी गाउँपालिकाका हजारौँ बिघा खेतमा सिँचाइ गर्न सकिने दहालले बताए। उनले खोलामा पक्की बाँध निर्माण गरी व्यवस्थित तरिकाले पानी ल्याउन सके वर्षभरि नै सिँचाइ गर्न सकिने धारणा राखे।

नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ सालमा १८ करोड रुपैयाँको लगानीमा यो आयोजना सुरु गरेको थियो।

सो आर्थिक वर्षमा: उपभोक्ता समिति मार्फत निकुञ्जभित्र कुलो निर्माणका लागि ६५ लाख रुपैयाँ र निकुञ्ज बाहिर कुलो निर्माणका लागि ८५ लाख रुपियाँ लगानी भएको थियो।

सिँचाइका लागि पानी ल्याउन कतिपय खहरे खोलाहरूमा पक्की साइफन (अन्डरग्राउन्ड कुलो) समेत निर्माण गरिएका छन्।

आयोजनामा निरन्तरता नहुँदा: अधिकांश कुलोहरू पुरिएका र भत्किएका थिए, जसले गर्दा करोडौंको लगानी खेर गएको थियो।

अलपत्र सरकारी आयोजनाको बीचमा पनि किसानहरूले गरेको यो सामूहिक र सफल प्रयासले उनीहरूको जीविकोपार्जनप्रतिको प्रतिबद्धता स्पष्ट पारेको छ।


सम्बन्धित समाचार