३ पौष, वीरगन्ज । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ (Gen Z) आन्दोलनका क्रममा वीरगन्जमा भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ प्रक्रिया सुरु गरेको छ। आन्दोलनको झण्डै तीन महिनापछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न व्यक्तिहरूको खोजी र पक्राउलाई तीव्रता दिएको हो।
यसै क्रममा, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वडा नम्बर ३ स्थित निजी निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–९, रानीघाटका ४० वर्षीय रञ्जन सिंह राजपुत रहेका छन्।
पर्साका प्रहरी उपरीक्षक (SP) सुदीपराज पाठकका अनुसार राजपुतलाई बिहीबार बिहान सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको हो।
मेयर सिंहले आफ्नो घरमा भएको क्षतिलाई लिएर दिएको किटानी जाहेरीका आधारमा पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो। राजपुतविरुद्ध हाल ‘आपराधिक उपद्रो’ कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा वीरगन्जमा ठूलो मात्रामा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार उक्त दिनका घटनाहरूमा संलग्न १२ देखि १५ जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ।
आन्दोलनका क्रममा क्षति पुगेका मुख्य संरचनाहरू:
-
सरकारी कार्यालयहरू: वीरगन्ज महानगरपालिकाको कार्यालय, वडा नं. १०, १४ र २६ का कार्यालयहरू।
-
प्रहरी संरचना: रानीघाट प्रहरी चौकी, घण्टाघरस्थित अस्थायी प्रहरी पोष्ट।
-
अन्य कार्यालयहरू: आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकम, शिव–पार्वती मठ।
-
राजनीतिक दल: नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयहरू।
लक्षित गरिएका निजी निवासहरू: मेयर राजेशमान सिंहका अतिरिक्त पूर्वमन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया, राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्धी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा समेत तोडफोड र आगजनी गरिएको थियो।
प्रहरीले सीसीटीभी फुटेज र संकलित प्रमाणका आधारमा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।















