Logo

९ पुस, वीरगन्ज । बंगलादेशमा एक हिन्दु युवकलाई जिउँदै जलाएर मारिएको विरूद्धमा बुधबार पर्साको वीरगन्जमा महिला तथा युवतीहरूले विशाल प्रदर्शन गरेका छन् । विश्व हिन्दु परिषद नेपाल महिला विभागको अगुवाइमा भएको यस प्रदर्शनमा ठूलो संख्यामा किशोरी र छात्राहरूको समेत सहभागिता रहेको थियो ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस अगाडिबाट सुरु भएको विरोध जुलुश आदर्शनगर, माईस्थान र घण्टाघर चोक हुँदै नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको थियो । प्रदर्शनकारीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा बंगलादेशको मयमनसिंह जिल्लामा ३० वर्षीय हिन्दु युवक दिपुचन्द्र दासको बीभत्स हत्यामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ ।

प्रदर्शनकारीहरूले नेपाल सरकारसँग निम्न बुँदाहरूमा कूटनीतिक पहल गर्न आग्रह गरेका छन्:

  • स्वतन्त्र छानबिन: घटनाको निष्पक्ष र अन्तर्राष्ट्रिय निगरानीसहित छानबिन गराउन बंगलादेश सरकारसँग कूटनीतिक संवाद गर्नुपर्ने ।

  • औपचारिक दबाब: जघन्य अपराधमा संलग्न दोषीहरूलाई कडा सजाय सुनिश्चित गर्न नेपाल सरकारले औपचारिक दबाब दिनुपर्ने ।

  • अल्पसंख्यकको सुरक्षा: बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यकहरूको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता र मठ-मन्दिरको सुरक्षा सुनिश्चित गरिनुपर्ने ।

  • अन्तर्राष्ट्रिय मञ्चमा आवाज: संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चहरूमा यो विषय उठाएर बंगलादेशमाथि कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने ।

  • सीमा निगरानी: रोहिङ्गया र बंगलादेशी नागरिकको नाममा नेपालमा भइरहेको ‘अवैध घुसपैठ’ र कट्टरपन्थी गतिविधिमाथि सीमा नाकामा कडा निगरानी गर्नुपर्ने ।

प्रदर्शनका क्रममा सहभागीहरूले नेपालमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।


सम्बन्धित समाचार
भर्खरै