Logo

१० पुष, वीरगञ्ज । वीरगञ्जस्थित डिएभी स्कुलको इन्टरएक्ट क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रशंसनीय कार्य गरेको छ। क्लबले वीरगञ्ज जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरूलाई जाडोयाममा तातो पानीको सुविधा पुगोस् भन्ने उद्देश्यले १० थान थर्मस (Thermos) सहयोग प्रदान गरेको हो।

छात्रावासमा रहेका बालबालिकाहरूलाई जाडोमा न्यानो र स्वास्थ्यकर तातो पानी सेवन गर्न सहज बनाउन क्लबका विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट पैसा बचत गरी उक्त सामग्री खरिद गरेका हुन्।

सहयोग हस्तान्तरणका क्रममा इन्टरएक्ट क्लबकी अध्यक्ष नाभ्या खेतानले भनिन्, “हामीले आफ्नै खाजाको पैसा जोगाएर यो सानो प्रयास गरेका हौँ। सानो-सानो योगदानले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिनु नै हाम्रो मुख्य उद्देश्य हो।”

सहयोग हस्तान्तरण कार्यक्रम अध्यक्ष नाभ्या खेतानकै अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईले विद्यार्थीहरूको यो कदमको खुलेर प्रशंसा गरे। उनले भने, “इन्टरएक्ट क्लबका विद्यार्थीहरूले देखाएको यो संवेदनशीलता र सेवाभाव वास्तवमै अनुकरणीय छ। यस्ता कार्यले समाजमा सकारात्मक सोचको विकास गर्छ र बालबालिकामा जिम्मेवारीबोध र मानवता सिकाउँछ।”

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रकाश कर्ण र सञ्चारकर्मी अभिलाष गुप्ताको उपस्थिति रहेको थियो। यस्तै, क्लबका पूर्व अध्यक्षहरू ओम द्विवेदी, मोहित मित्रुका, जेसिका यादव, रिपु राउत, एम.डी. साहिल, रिशान्त कुमार सिंहलगायतका सदस्यहरूको पनि उल्लेखनीय सहभागिता थियो।


सम्बन्धित समाचार
भर्खरै