Logo

११ पुष, काठमाडौं । नेपाल प्रहरीमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी लामो समय जागिर खाएर अवकाश पाइसकेका एक प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंमा दरबन्दी भई हाल सेवानिवृत्त जीवन बिताइरहेका चक्रदेव भट्टले झुट्टा प्रमाणपत्रका आधारमा सरकारी सेवाको लाभ लिएको पुष्टि भएपछि आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । २०५० सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका भट्टले बढुवाका क्रममा समेत भारतको दिल्लीबाट जारी भएको नक्कली सर्टिफिकेट प्रयोग गरी राज्य कोषबाट पारिश्रमिक र पेन्सन सुविधा लिँदै आएका थिए ।

अख्तियारका अनुसार भट्टले सन् १९९१ मा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) बाट सिनियर स्कुल सर्टिफिकेट उत्तीर्ण गरेको भन्दै पेस गरेका मार्कसिट र सर्टिफिकेटहरू पूर्ण रूपमा नक्कली रहेको अनुसन्धानबाट खुलेको छ । उनले सोही नक्कली कागजातका आधारमा प्रहरी हवल्दारबाट असई पदमा पदोन्नति समेत पाएका थिए । जागिर अवधिभर सरकारी सुविधा भोग गरेर हाल निवृत्तभरण (पेन्सन) खाइरहेका भट्टमाथि परेको उजुरी छानबिन गर्दा उनी सुरुवातमै गलत बाटोबाट सेवामा छिरेको पाइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभएको छ ।

राष्ट्रसेवकको ओहोदा प्राप्त गर्न र पदोन्नति हुनका लागि बदनियतपूर्वक नक्कली योग्यता देखाउनु भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर भएकाले भट्टलाई कडा सजायको मागदाबी गरिएको छ । आयोगले उनलाई साविकको भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ९१० बमोजिम कैद र जरिवाना सजाय गर्न अदालतसमक्ष माग गरेको छ । पेन्सन खाइरहेकै अवस्थामा भ्रष्टाचार मुद्दा दायर भएपछि अब उनले पाइरहेको सुविधाहरू समेत जोखिममा परेका छन् ।


सम्बन्धित समाचार