Logo

१२ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर्धारण गरेको छ।

आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम भएका तर निर्वाचनको दिन आफ्नो मतदाता केन्द्रभन्दा बाहिर रहने विभिन्न सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी तथा अन्य समूह अस्थायी मतदाताका रूपमा सूचीकृत हुनेछन्।

आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा संघ वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारीलाई अस्थायी मतदाता मानिने जनाएको छ। यस्तै, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सदस्य, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदातामा पर्नेछन्।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा स्वीकृतिप्राप्त वृद्धाश्रममा बसोबास गर्ने व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई समेत अस्थायी मतदाता नामावलीमा समावेश गरिने व्यवस्था गरिएको छ।

अस्थायी मतदाता नामावली व्यवस्थापनका लागि निर्वाचन आयोगका एक आयुक्तको संयोजकत्वमा अस्थायी मतदाता नामावली समन्वय समिति गठन गरिएको छ। समितिमा आयोगका सचिवसहित गृह, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ। आयोगका महाशाखा प्रमुख सहसचिव तथा वरिष्ठ कम्प्युटर अधिकृत सदस्य रहनेछन् भने मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका उपसचिव सदस्य सचिव रहनेछन्।

जिल्लास्तरमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख र जिल्ला कारागार प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ। निर्वाचन अधिकारी सदस्य सचिव रहनेछन्।

आयोगका अनुसार अस्थायी मतदाता नामावली संकलनका लागि सम्बन्धित निकायसँग कर्मचारी विवरण माग गरी विद्युतीय प्रणालीमार्फत निर्वाचन कार्यालयमा पठाइनेछ। प्रमुख नाम दर्ता अधिकारीले सो विवरण सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनेछन्।

निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली तोकिएको ढाँचामा तयार गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले यस व्यवस्थाले निर्वाचनमा खटिएका तथा आफ्नो मतदाता केन्द्रभन्दा टाढा रहने मतदातालाई मताधिकार प्रयोग गर्न सहज बनाउने विश्वास लिएको छ।


सम्बन्धित समाचार