१३ पुष, वीरगञ्ज । सशस्त्र प्रहरी बल (एपीएफ), नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बिरगंज–रक्सौलस्थित अन्तर्राष्ट्रिय मितेरी पुल क्षेत्र वरिपरि गरिएको सौन्दर्यकरण कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा आईजीपी अर्यालले नेपाल–भारत सीमा क्षेत्र देशको पहिचानसँग जोडिएको संवेदनशील स्थान भएको उल्लेख गर्दै यहाँको सुरक्षा, सरसफाइ तथा व्यवस्थित पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभएको हो। उहाँले सीमा क्षेत्रमा वातावरणीय सौन्दर्य, स्वच्छता र सुरक्षा व्यवस्थापन सुदृढ हुनुपर्नेमा जोड दिँदै हरियाली प्रवर्द्धन, सार्वजनिक स्थानको संरक्षण तथा दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
हरियाली र प्रकृतिको महत्वलाई आत्मसात गर्दै बीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल १३ नम्बर गण, बीरगंजको संयुक्त आयोजनामा सञ्चालन गरिएको अभियानले सहरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने लक्ष्यलाई थप बल पुगेको आयोजकहरूले बताएका छन्। उनीहरूका अनुसार यस अभियानले सीमा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै स्थानीय समुदायको सहभागिता पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ।
आज सम्पन्न निरीक्षण कार्यक्रममा बीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, सशस्त्र प्रहरीका एसपी पुरन चन्द भट्ट, डीएसपी पुरुषोत्तम भण्डारी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरीक्षक बिक्रम सुवेदी, रक्सौलका सीमा सुरक्षाबलका पदाधिकारी, सामुदायिक प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रको सौन्दर्यकरणले सुरक्षा सुदृढीकरणका साथै पर्यावरण संरक्षण र नागरिक सचेतनामा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।















