१४ पुष, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने अन्तिम दिन नेपाली कांग्रेसभित्र आन्तरिक भागबण्डाको रस्साकस्सी चलेको छ ।
पार्टीले संस्थापन र इतर पक्षबीच ६० र ४० प्रतिशतको अनुपातमा सिट बाँडफाँट गरेर उम्मेदवार छनोट गर्ने मध्यमार्गी बाटो रोजेको छ । यस सहमति अनुसार सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ६० प्रतिशत हिस्सा राख्नेछ भने महामन्त्री गगन थापा र नेता शेखर कोइराला सम्मिलित इतर पक्षलाई ४० प्रतिशत सिट छुट्याइएको छ । दुवै पक्षभित्र रहेका उपसमूहहरूलाई समेत चित्त बुझाउनुपर्ने बाध्यताका कारण सूचीलाई अन्तिम रूप दिन नेताहरूलाई हम्मे–हम्मे परेको छ ।
संस्थापन पक्षभित्र पनि प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र शशांक कोइराला जस्ता प्रभावशाली नेताहरूले आफ्ना निकटका व्यक्तिहरूलाई सूचीमा समेट्न सभापति देउवामाथि कडा दबाब दिइरहेका छन्। उता, इतर पक्षमा महामन्त्री थापा र नेता कोइरालाबीच पनि आ–आफ्नो समूहका उम्मेदवारहरूलाई प्राथमिकतामा राख्ने प्रतिस्पर्धा देखिएको छ । पार्टीले अनौपचारिक तहमा नामावलीलाई मोटामोटी टुंग्याएर केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन गराएपछि मात्रै निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
पार्टीको छविलाई ध्यानमा राख्दै यसपटक कांग्रेसले समानुपातिक उम्मेदवार चयनमा केही कडा नीतिहरू पनि अख्तियार गरेको छ । विगतमा समानुपातिक सांसद भइसकेका, प्रदेश सांसद भएका वा प्रदेशको समानुपातिक सूचीमा नाम रहेकाहरूलाई यसपटक अवसर नदिने नीति बनाइएको छ । अघिल्लो निर्वाचनमा आरजु राणा, मञ्जु खाँण, प्रकाशशरण महत र विमलेन्द्र निधि जस्ता शीर्ष नेताहरूले समानुपातिक कोटा प्रयोग गरेको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भएको थियो ।
त्यसैले, यसपटक नयाँ अनुहारलाई स्थान दिने गरी कांग्रेसले समावेशी क्लस्टरहरू मिलाउन अन्तिम कसरत गरिरहेको छ ।















